अमेरिकामा घरेलु टोली अमेरिका र ओमानसँग नेपालले चार खेलको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । नेपालले पहिलो खेलमा नै ओमानविरुद्ध १३ रनले हार्न पुग्यो ।
ब्याटिङले नै नेपाललाई जिताउने कप्तान लामिछानेले अमेरिका उड्नुअघि दाबी गरेका थिए । तर उनको दाबी झुटो सावित भएको छ ।
खासमा नेपालले ब्याटिङकै कारण ओमानविरुद्धको खेल हार्न पुग्यो भन्ने धेरै को भनाई छ ।
२ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमै सिमित भयो । लामो समयपछि नेपालका लागि ओपनिङ गरेका अनुभवी ब्याट्सम्यान सुवास खकुरेल (५ रन) तेस्रो ओभरमै आउट भएपछि नेपालले राम्रो सुरुवात गर्न सकेन् ।
पहिलो विकेट ७ रनमा गुमाएको नेपाललाई एकदिवसीयमा डेब्यु गरेका सुनिल धमला (१२ रन) र देव खनाल (३४ रन) ले दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे पनि १४ औँ ओभरको पहिलो बलमै सुनिल आउट भएपछि देवले तेस्रो विकेटका लागि रोहित पौडेल (२० रन)सँग ३१ रनको साझेदारी गरे । तर रोहित १९ औँ तथा देव २२ औँ ओभरमा आउट भएपछि नेपालले ४ विकेटको क्षतिमा ७९ रनको अवस्थमा पुग्यो ।
त्यसपछि सर्वाधिक ६६ रन बनाएका आरिफ शेखले दिपेन्द्र सिंह ऐरी (१६ रन) सँग २५ रनको साझेदारी तथा निरन्तर खराब ब्याटिङ गरिरहेका विनोद भण्डारी (१४ रन) सँग ३७ रनको साझेदारी गरे । दिपेन्द्र पछिल्लो समय नेपाली ब्याटिङको खम्बाको रुपमा मानिदै आएका थिए तर उनको जादू अमेरिकामा चलेन ।
तर निरन्तर विकेट गएपछि नेपालमाथि दवाब बढ्दै जादाँ अन्तिम २ बलमा अलआउट हुन पुग्यो । करण केसी ८ रन, सोमपाल कामी १३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।
ओमानका लागि जिसन मक्सुद र खवार अलीले समान ३-३ विकेट लिदाँ विलाल खानले २ तथा अयान खानले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोड्यो । उसका लागि कप्तान जिसन मक्सुदले १ सय ४ रनको योगदान गरे ।
नेपालका लागि करण केसीले ५ विकेट, कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
हारसगै नेपालले महत्वपूर्ण २ अंक गुमाएको छ ।