नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शनको दोष खेलाडीलाई नदिन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकबाट खराब प्रदर्शनको जिम्मा आफूले लिने बताएका छन् ।
अलमुताइरीले ‘म चाहन्छु कि सबै दोष मलाई जाओस्, त्यसैले खेलाडीलाई दोष नदिनुहोस्, लेखेका छन् । उनले टोलीमा केही सकारात्मक कुरा देखिए पनि सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेकाे बताए ।
‘प्रिय नेपाली समर्थकहरू, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरू अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’
नेपालले जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को पराजय बेहोरि कविहीन बनेको थियो ।
प्रतियोगितामा नेपालले १३ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सक्यो ।