पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा बिहीबार नयाँ कीर्तिमान रचेका छन् ।
फिफा विश्वकपमा लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बिहीबार समूह ‘जी’को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले विश्व फुटबलमै दुर्लभ इतिहास बनाएका हुन् । रोनाल्डोले पाँचै विश्वकपमा समूह चरणमै पाँच गोल गरेका हुन् । विश्वकप फुटबलकै अर्को रोमाञ्चक खेलमा पोर्चुगलले दक्षिण अफ्रिकी राष्ट्र घानालाई ३–२ को अन्तरमा पराजित गर्यो ।
प्रतिस्पर्धामा रेकर्ड बनाएका रोनाल्डोले खेलको ६५औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । डिबक्सभित्र घानाका मोहमदले फल गरेपछि पोर्चुगलले पेनाल्टी पायो । वर्तमान समयकै उत्कृष्ट खेलाडी रोनाल्डोले घानाका गोलरक्षकलाई छक्काउँदै गोल गरे । यस गोलसँगै लगातार पाँचौँ विश्वकपमा गोल गर्ने रोनाल्डो प्रथम खेलाडी भए । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा रोनाल्डोले डेब्यु गरेका थिए । डेब्यु विश्वकपमै रोनाल्डोले गोलको खाता खोले ।