राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताले सोमबार दिउँसो प्रधानान्त्री शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल गरे । राष्ट्रपतिले सरकार गठनको लागि ७ दिनको समय दिएपछि रास्वपा छलफलका लागि बालुवाटर पुगेको हो ।
भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनेबारे रास्वपासँग धारणा मागे । ‘सरकार गठनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले हाम्रो धारणा सोध्नुभयो,’ ढकालले भने, ‘हाम्रो एजेन्डामा प्रतिबद्धता जनाउनुपर्ने बताएका छौँ ।’ यसअघि गत शुक्रबार रास्वपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँग पनि सरकार गठनबारे छलफल गरेका थिए ।
रास्वपा सरकारमा सहभागी हुन लागेको हो त ?
रास्वपाले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छैन । तर आफूहरूको एजेन्डामा प्रतिबद्धता जनाएमा सरकारमा सभागी हुने संकेत रास्वपाले दिएको छ ।
प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि निर्वाचन आयोगले आयोजना गरेको चियापान कार्यक्रममा सभापति लामिछानले भनेका थिए, ‘सरकारमा जाने विषयमा छलफल सुरु गरेको छु । छलफल सकिएको छैन । छलफल सकिएपछि निर्णय गर्छौं ।’
सरमारमा सहभागी हुन रास्वपाले आफ्नो सर्त पूरा हुनुपर्ने माग गरेको छ । ‘हाम्रो एजेन्डा जाने हो । आम नागरिकसँग एजेन्डा राखेर मत लिएका छौँ । एजेन्डा सम्बोधन हुने प्रतिबद्धता भयो भने परिवेश बेग्लै हो । त्योबाहेक सरकारमा जानको लागि जान मात्र औचित्य छैन,’ सभापति लामिछानेले भनेका थिए ।
रास्वपाले प्रदेश संरचानमा फरक मत राख्दै आएको छ । यसमा पनि सम्बोधन हुनुपर्ने रास्वपाको माग छ । ‘प्रदेश संरचनामा कानुन बन्न सकेन । खर्चिलो भयो । राज्यकोषको दोहन गर्ने ठाउँ भयो । कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ बन्यो । यसलाई मर्मत गरौँ भनेको हो,’ सभापति लामिछानेले भने ।
रास्वपा सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने अधिकार सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई दिएको छ । पार्टी प्रवक्ता ढकालले सरकारमा सहभागी हुने/नहुने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिइएको बताए । लामिछाने हिजो संसदीय दलको नेतामा चयन भएसँगै पार्टीले निर्णय गर्ने अधिकार उनैलाई दिएको हो ।
‘निर्णय गर्ने अधिकार सभापतिलाई दिएका छौँ,’ ढकालले शिलापत्रसँग भने । निर्णय गर्ने अधिकार पाएसँगै सभापति लामिछानेले प्रमुख दलका नेताहरूसँग छलफल थालेका हुन् । संसदको चौंथो शक्ति रहेको रास्वपासँग २० सिट छ । ४ मंसिरमा भएको चुनावमा प्रत्यक्षमा ७ र समानुपातिकबाट संसदको चौंथो शक्ति रहेको रास्वपासँग २० सिट छ । ४ मंसिरमा भएको चुनावमा प्रत्यक्षमा ७ र समानुपातिकबाट १३ सिट रास्वपाले पाएको थियो ।