logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा खगराज भट्टलाई ओमबिक्रम चुनौती


अंकुरण खबर
1.222K
Shares

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेतामा खगराज भट्ट निर्विकल्प जस्तै देखिएका बेला अर्का नेता ओमबिक्रम भाट (सरल)ले पनि दाबी प्रस्तुत गरेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका भाटले संसदीय दलको नेतामा आफ्नो पनि दाबी रहेको बताएका छन् ।

दलको नेता चयनका लागि चुनाव हुने अवस्थाामा उम्मेदवारी दिने बताउने उनी पार्टीमा पुस्तान्तरण आवश्यताको रहेको बताउँछन् ।

अहिलेको राजनीतिलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भएकाले पनि आफू दलको नेतामा चुनाव लड्ने भाटको भनाइ छ ।

‘अब पार्टीलाई जनमुखी बनाएर लैजानुपर्छ । संसदीय दलमा पनि निर्वाचन हुनुपर्छ हिजोको परम्परा तोडेर नयाँ ढंगले जानुपर्छ । युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भनेर दाबी प्रस्तु गरेको छु,’ भाटले अनलाइनखबरसँग भने, ‘पार्टीमा कति सालमा सदस्यता लिएको, सिनियर जुनियर भन्ने गरेकै कारण पार्टी भद्दा हुँदै आयो । कार्यकर्ताले नेता चुन्नुपर्छ । पार्टीभित्र पनि कार्यकर्ताका बीचमा जाऔँ । प्रतिस्पर्धात्मक राजनीतिकमा जाऔँ भन्ने हाम्रो प्रस्ताव हो ।’

भाटले दाबी प्रस्तुत गर्न अघि निर्विकल्प जस्तै देखिएका खगराज भट्ट पार्टीको स्थायी कमिटी र सुदूरपश्चिम इन्चार्ज एवंम् पार्टीको नेता भएको बताउँदै आन्तरिक प्रतिस्पर्धालाई निषेध गर्न नहुने पक्षमा छन् ।

माओवादी केन्द्रको संसदीय दलमा भट्टलाई अब भाट चुनौतीका रुपमा देखिएका छन् । पार्टीमा नेता वषर्ामान पुन निकट मानिने भाट खुमलटारसँग पनि निकट नेताका रुपमा चिनिन्छन् । सोही कारण खुमलटारले चुनावका बेला नेता देवीलाल चौधरीले पाइसकेको टिकट रातारात खोसेर भाटलाई थमाएको चर्चा सुदूरपश्चिममा छ ।

पार्टीको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टले अब दलमा भाटको सामना गर्नुपर्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादीका समकालीन नेताहरुले मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशसभाको चुनाव लड्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । तर अहिले भने भट्ट मुख्यमन्त्री बनाउने सहमतीमै प्रतिनिधि सभा देउवालाई छाडेर डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।

भट्टले पनि प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्यमन्त्री बनाउने बाचाअनुसार प्रदेश सभामा आएको बताउँदै आएका छन् । ‘उहाँहरु -देउवा र प्रचण्ड) दुवै जनाको समझदारीले म प्रदेशसभामा चुनाव लडेको हुँ । उहाँहरुले बोल्दै हिड्नुभएको पनि हो नी,’ भट्टले भने, ‘उहाँहरु बीच हुने समझदारी र सहमतीले सबै कुरा टुंगिन्छ ।’

माओवादीले प्रदेश संसदीय दलको नेता पनि सर्वसम्मत रुपले चयन गर्ने उनको दाबी छ । ‘म बाहेक विकल्प छैन भन्ने कुरा नभएको तर वैज्ञानिक र न्यायपूर्ण विकल्प यो हुन्छ भन्ने हो,’ भट्टले अनलाइनखबरसँग भने ।

सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्यसहित दोस्रो दल बनेको माओवादी केन्द्रमा केन्द्रीय सदस्य समेत रहेका भाट वषर्ामान पुन निकट भएकाले उनीसँग चार जना प्रदेशसभा सदस्य उभिने सम्भावना रहेको नेताहरु बताउँछन् । भट्टलाई पाँच जनाले समर्थन गर्न सक्ने सम्भावना देखिन्छ ।

यस्तो अवस्थामा तटस्थ भूमिकामा देखिएका समानुपातिक सांसद लक्ष्मी बिक र जानकी कुँवर पौडेल निर्णयक बन्ने अनुमान गरिएको छ । तर कतिपय नेताहरु भने भाटले अहिले दाबी प्रस्तुत गरेपनि अन्तिम अवस्थामा खगराजलाई नै समर्थन जनाएर सर्वसम्मत नेता चयनको बाटोमा अघि बढ्ने बताउदै आएका छन् ।