logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री


अंकुरण खबर
1.144K
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतलाई मुख्यमन्त्री बन्दा एमालेका ३९ र नेकपा (माओवादी केन्द्र) का १३ जना प्रदेश सांसदले समर्थन गरेका थिए । एक जना मात्रै सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा जसपाले साथ दिएको थिएन ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबारका लागि प्रदेशसभाको पाँचौ तथा बर्खे अधिवेशन आह्वान गरेका थिए । बजेट अधिवेशनको पहिलो बैठकबाटै मुख्यमन्त्री हिक्मतले विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिनेसम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

हिक्मत संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा एमाले र माओवादीका ५२ जना सांसदले समर्थन गरेका थिए । अहिले जसपाले पनि समर्थन गरेको छ ।

कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद छन् ।

निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले संकल्प प्रस्तावको निर्देशनविपरीत सदनबाट विश्वासको मत लिएनन् । पदबाट राजीनामा पनि दिएनन् । त्यसपछि केदार अल्पमतमा परेको ठहर गर्दै बहुमत देखाएर हिक्मतकुमार कार्कीले गरेको दाबी बमोजिम प्रदेश प्रमुखले उनलाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।