logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले भने, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन, राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं


अंकुरण खबर
1.365K
Shares

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने ।

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो । व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो । कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने ।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने ।