काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आन्तरिक विवाद झन् चर्किंदै गएको छ ।
संस्थापन पक्षले बहुमतको आधारमा १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने, विभागको संख्या बढाउने र क्रियाशील सदस्यता वितरणमा विधानका केही धारा निलम्बन गर्ने निर्णय गरेपछि उक्त विवाद चुलिँदै गएको हो ।
केन्द्रीय समिति बैठक नियमित बहिस्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न जिल्ला सभापतिहरुसँग छलफल बढाएको छ । उक्त छलफलमा कृष्णप्रसाद सिटौला पक्षसमेत सहभागी छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरुको सहभागितामा हिजो सोमबारदेखि शुरु भएको जिल्ला सभापतिहरुको छलफल अझै दुई दिन चल्ने बताइएको छ ।
संस्थापन पक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएका ४७ जना जिल्ला सभापतिले पार्टी विधि विधानले चल्नुपर्ने, सभापतिको एकल निर्णयमा पार्टी अघि बढ्न नसक्ने, पार्टीलाई सशक्त बनाउन गुट–उपगुट र भागवण्डाको राजनीति अन्त्य हुनुपर्ने, १४ औं महाधिवेशनको जोड–घटाउको राजनीतिमा पार्टीलाई नै कमजोर बनाउन नहुने सुझाव दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।