नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा जारी छ । बैठकमा सरकारमा सहभागी हुने/नहुने, संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारमा सहभागी हुने/नहुने विषय तत्काल नटुंगिन पनि सक्ने उनले संकेत गरे । पोलिटब्युरोको बैठकसम्म छलफल गरेर निर्णयमा पुग्न सकिने उनको भनाइ छ ।
“सरकारमा जाने यहाँ नजाने भन्ने विषयमा हामी आजदेखि पोलिटब्युरोसम्मको बैठकमा पुगेर राय, सल्लाह लिइसकेपछि मात्रै टुंगो गर्ने स्थिति पनि हुनसक्छ,” उनले भने, “घटनाक्रमले त्यस्तो देखाइरहेको छ ।”
स्थायी कमिटीको आजदेखि सुरु बैठक भोलिसम्म चल्ने उनले जानकारी दिए । बैठकको सुरुआतमा अध्यक्ष माधवकुमार नेपालले विकसित पछिल्लो घटनाक्रमबारे सदस्यहरूसित राय, सल्लाह मागेको उनले बताए । उनका अनुसार बैठकमा सदस्यहरूको बोल्नेक्रम जारी छ ।