सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वपार्टी भन्ने भावना हटाउनुपर्ने बताएका छन्।
साङ्गठनिक एकीकरणको काम नसकिएको अवस्थामा ‘पूर्व’ भन्ने भावना कायम रहनु उचित भए पनि अब आवश्यक नभएको भन्दै त्यस्तो भावना हटाउनुपर्नेमा जोड दिएका हुन्।
‘हिजो साङ्गठनिक एकीकरण नसकिञ्जेलसम्म पूर्वएमाले, पूर्वमाओवादी भन्ने हुन्थ्यो, त्यो काम अब सकिएको छ,’ नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘पूर्वएमाले र पूर्वमाओवादी भन्ने चीज अब एक ठाउँमा भने रहन्छ, त्यो ठाउँ भनेको इतिहासको पानामा मात्रै हो।’
पूर्वएमाले र पूर्वएमाओवादी भन्न आवश्यक नभएको भन्दै अब सबैले नेकपामात्रै भन्नुपर्ने र सोच्नुपर्ने उनको धारणा रहेको छ। सभामुख चयनको सवालमा नेकपाभित्र पूर्वएमाले र माओवादीबीच प्रतिस्पर्धा चलिरहेको बेला प्रवक्ता श्रेष्ठबाट आएको सो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।