logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काँग्रेस सभापति देउवा र नेता पौडेलबीच छलफल


अंकुरण खबर
1.729K
Shares

नेपाली काँग्रेसको आन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ ।

सभापति देउवा निवास बूढानीकण्ठमा आज उनीहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको हो ।

झण्डै तीन घण्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गरेका छलफलका बारेमा समेत जानकारी गराइएको थियो ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मङ्सिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिनेबारेमा छलफल भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग पूरा नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित थिए ।