प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।
बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनेछन् । हिजो सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार रहेका छन् ।
प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।
दुवै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।