कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार मंगलबारदेखि एक साता ९१८ गते०सम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्किन पाइनेछैन ।
लकडाउन सुरु भएपछि अब औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट निस्किन पाइनेछैन । त्यस्तै, अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।
निर्णयमा सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने उल्लेख छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ । नयापत्रिकाबाट