नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण श्रमिकको सुस्वास्थ्य र प्रगतिको अपेक्षासहित श्रमजीवी मजदूरहरुको खाद्यान्न लगायत आवश्यक राहतको घोषणा गर्न सरकारसँग माग गरेका छन् । ‘विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छु, सन्देशमा भनिएको छ ।
‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।’
देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनुपर्ने कर्तव्य सबैको भएको सन्देशमा उल्लेख छ। सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मई १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ ।
नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरेको कुरा सन्देशमा छ। ‘कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछुु सन्देशमा भनिएको छ।
