काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम पूर्वबाट विभिन्न कामको शिलशीलामा काठमाडौं बस्ने ६५ घरपरिवारलाई खाद्यान्न समाग्री वितरण गरेकी छिन् ।
काठमाडौंको किर्तिपूरस्थित भत्केपाटी विष्ट गाउँमा बस्ने ६० विपन्न परिवारलाई सांसद रोकाले आज दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएकी हुन् । लकडाउनमा दैनिकी चलाउन मुस्किल परेका विपन्न परिवारलाई सांसद रोकाले प्रतिपरिवार ३० केजी चामल उपलब्ध गराएकी हुन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाबाट काठमाडौं आएर बस्ने र त्यस क्षेत्रमा समस्यामा परेका नागरिकलाई आफुले सहयोग गर्न लागेको सांसद रोकाले बताइन् । जिल्लाबाट विभिन्न प्रयोजनका लागी राजधानीमा रहेका जनताहरु भोकै बस्न पर्ने स्थिती आउन नदिन आफुले विशेष अभियान थालेको बताइन ।
निस्वार्थ भावले आ-आफ्नो ठाउँबाट सहयोग गर्न र सरकारले तोकेको लकडाउन अवधिभर सुरक्षित तरिकाले घरमै बस्न पनि सांसद रोकाले सबैलाई आग्रह गरेकी छिन् ।
सांसद रोकाले केहि दिन पहिले पनि ५ घर परिवारलाई राहत वितरण गरिसकेकी छिन् ।