कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले तयारी गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रियाबारे छलफल भएको हो ।
लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
नेपालमा क्रमशः ल्याउने र संक्रमण फैलन नलिन गरिने योजनामा छलफल भएको र अन्तिम रुप दिन बाकी रहेको उनले बताए ।
विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग रक्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए ।