बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बन्दाबन्दीको स्वरुप फेर्ने निर्णय भएको छ। तर, कसरी र कुन विधिबाट खोलिने भन्ने विस्तृत जानकारी भने सार्वजनिक भएको छैन।
राति अवेर सकिएको बैठकले गरेको निर्णयको विस्तृत खाका सार्वजनिक नभइ बिहीबार बिहानबाटै राजधानी उपत्यकामा निजी सवारी साधनहरु सञ्चालन आयो। जसले गर्दा प्रहरीलाई कठिनाइ भएको छ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले सरकारको निर्णय कार्यान्वयनमा आउनै बाँकी रहेको बताए।
सरकारको निर्णय सार्वजनिक नभइ नै राजधानी उपत्यकामा अत्यावश्यक बाहेकका निजी सवारी साधन सञ्चालनमा आएकाले प्रहरीले नियन्त्रणमा लिइरहेको छ।
एसएसपी ढकालले भने, “सरकारले औपचारिक घोषणा गरेपछि मात्रै के खुल्ने र बन्द रहने निश्चित हुन्छ। अहिलेसम्म निजी सवारीलाई सञ्चालन हुन दिइएको छैन।”
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले निजी सवारी साधन सञ्चालनको खाका आजै दिउँसो सार्वजनिक हुने बताए। उनले भने, “दिउँसो तीन बजे निजी सवारी साधन सञ्चालन कसरी हुन्छ भन्नेबारे खाका सार्वजनिक हुन्छ।” उनका अनुसार, कोरोना महामारी जोखिमको अवस्था हेरेर सवारी साधन सञ्चालन अनुमतिबारे निर्णय सार्वजनिक गरिदैछ।
सरकारले तीन चरणमा बन्दाबन्दी खुला गरिसक्नेगरी निर्णय गरेको छ। त्यस अन्तर्गत २१ दिनको अवधिलाई पहिलो चरण मानिएको छ भने दोस्रो र तेस्रो चरण १५–१५ दिनको हुनेछ।
तर, त्यस अवधिमा महामारी जोखिमको अवस्था हेरेर बन्दाबन्दी पूर्ण रुपमा खोल्ने वा कायमै राख्ने भन्ने निर्णय लिने मन्त्रिपरिषदले निर्णय गरेको छ।
बन्दाबन्दीको स्वरुप फेर्ने निर्णय कहिलेबाट लागू हुने भन्ने पनि आजै सार्वजनिक गरिने छ ।