स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोनासँग अति कडा प्रतिस्पर्धामा रहेको रियल मड्रिड पुनः शीर्ष स्थानमा फर्किएको छ ।
लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा मालोर्कामाथि २-० को जित निकालेको रियल मड्रिड समान अंक भए पनि बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा भएको हो ।
जितपछि रियल मड्रिडको बार्सिलोना समान ३१ खेलबाट ६८ अंक भयो । गोल अन्तरमा पछि रहे पनि हेड टू हेडमा अघि रहेका कारण रियल मड्रिड शीर्ष स्थानमा गएको हो ।
यसअघि मंगलबार राति भएको खेलमा जित निकालेर बार्सिलोना शीर्ष स्थानमा गएको थियो।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि विनिसियस जुनियरले १९ औँ तथा सर्जियो रामोसले ५६ औँ मिनेटमा गोल गरेका हुन् ।
यो खेलमा मालोर्काले १५ वर्षका किशोर लुका रोमेरोलाई दोस्रो हाफमा मैदानमा पठाएको थियो । उनी स्पेनिस ला लिगाको इतिहासमा सबै भन्दा कम उमेरमा खेल्न पाउने खेलाडी भएका छन् ।
पराजित भएको मालोर्का ३१ खेलबाट २६ अंकसहित रेलिगेशन जोनमा रहेको छ।
लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा ओसासुनाले एलाभेस तथा सेल्टा डी भिगोले रियल सोसिडाडलाई समान १–० ले पराजित गरेको छ ।