logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला सांसदको भूमिका बढाउन पहल


अंकुरण खबर
858
Shares

काठमाडौं – संघीय संसदमा महिला सांसदहरूको भूमिका वृद्धि गर्न संसद् सचिवालयले मंगलबार संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया गरेको छ । संसद्मा महिला सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले महिला सांसदहरूलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन् । उनले भनिन्, ‘संसद्मा महिला माननीयहरूको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ ।’ संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउँदै उनले अगामी अधिवेशनबाट महिला सांसदहरूको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् ।

राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेकाहीँ स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेकको उल्लेख गरिन्। उनले शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन्।

कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रस्तुति दिएका थिए ।