logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीद्वारा पार्टीविरुद्ध सर्वोच्चमा रिट दायर


अंकुरण खबर
767
Shares

समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

आफ्नो हक अधिकार खोसेको भन्दै उनले अदालतमा रिट दायर गरेकी हुन् । पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले रिट दायर गरेकी हुन् ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएकी छन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।

पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् ।

गत बिहीबार संसद् सचिवालयले एक सूचना जारी गर्दै गिरीको सांसद पद उनकै पार्टीको सिफारिसमा खारेज भएको जानकारी दिएको छ ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै पद गएको जनाएका छन्।