कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)२०२० शनिबारदेखि सुरु हुँदैछ ।
भारतमा कोरोना संक्रमण लगातार बढेपछि सिजनको आइपिएल युएईमा हुँदैछ । पहिलो खेलमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ । दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन् ।
आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ । यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ ।
गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आइपिएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ ।
यसपटकको आइपिएलका लागि खेलाडी, अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ । दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ । सबै खेलाडीलाई आफ्नो टिम होटल छाड्न बन्देज लगाइएको छ ।
आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन् । जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन् ।
मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय छ । यस्तै सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय छ । यस्तै चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७(७ खेल दुबईमा छन् । राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन् ।
आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । हाल सिपिएल खेलिरहेका सन्दीप उतैबाट युएई जाने कार्यक्रम छ ।