नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि मुद्दा परेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै निवेदन दिएका थिए । प्रतिनिधिसभा निर्वाचनमा हारेका गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नहुने रिट निवेदनमा जिकिर गरिएको छ ।
दुवै मुद्दामा बुधबार पनि सुनुवाइ भएको थियो । समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
सर्वोच्च अदालतले प्रकाशित गरेको दैनिक पेशी सूचिमा गौतमविरुद्धको मुद्दालाई प्राथमिकतामा राखिएको छ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासको आजको पेशी सूचिको पहिलो र दोस्रो नम्बरमा गौतमविरुद्धका दुवै निवेदन राखिएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। गौतमको तर्फबाट ३० भन्दा बढी कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
यस अघि असोज ७ गते रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो । र, यो मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो ।
प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए ।