नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रशिक्षणका लागि स्वीकृतिसमेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दसैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल ११–१९ नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विन्डोमा सञ्चालन हुनेछ ।
यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गतका खेलका लागि १७ अगस्टदेखि तयारी गर्ने भने पनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारीसमेत रद्द गरेको थियो । अब मैत्रीपूर्ण खेलका लागि भने एन्फाले टोली घोषणाबारे जानकारी दिएको छैन ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको छ ।