अस्ट्रेलियाको चर्चित बिग ब्यास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
क्रिकेट अष्ट्रेलियाले डिसेम्बर १० बाट सुरु हुने बीबीएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा सिड्नी सिक्सर्स र होबर्ट हुरिकान्सबीच खेल हुनेछ । सिड्नी सिक्सर्स साविक विजेता समेत हो ।
डिसेम्बर १० मा हुने उद्घाटन खेल होबार्टको घरेलु मैदानमा हुनेछ । यस्तै डिसेम्बर ११ मा हुने दोस्रो खेलमा मेलबर्न स्टार्स र ब्रिसबेन हिटबीच खेल हुनेछ ।
स्टार्सबाट गत सिजन नेपालका सन्दीप लामिछानेले खेलेका थिए । यस सिजन भने सन्दीपको क्लब तय भएको छैन ।
बीबीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो सिजनको तुलनामा यस सिजन केही परिवर्तन भएको छ । यस सिजनमा हरेक बीबीएल टिमले ३ विदेशी खेलाडीलाई प्लेईङ एघारमा राख्न पाउने छन् ।
यसअघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो । बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।