logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन आर्मी क्लबलाई एएफसीको लाइसेन्स हस्तान्तरण


अंकुरण खबर
689
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

आर्मी मुख्यालयमा भएको कार्यक्रममा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले फिफा र एएफसीको सबै मापदण्ड पूरा गरी पाएको क्लब लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण गरेका हुन् । सो प्रमाणपत्रलाई शेर्पाले आर्मीका प्रमुख पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई गएको मंगलबार एएफसीले लाइसेन्स दिने निर्णय गरेको थियो ।

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।

गएको वर्ष सम्पन्न ‘ए’डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।