logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएपछि प्रदेश १ मा भीमप्रसाद आचार्य चयन


अंकुरण खबर
1.014K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रदेश नम्बर १ को प्रदेश संसदीय दलबाट शेरधन राईलाई हटाएको छ ।

प्रचण्ड–नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री रहेका राईलाई हटाएर भीमप्रसाद आचार्यलाई प्रदेश संसदीय दलको नेता चयन गरेको छ ।

केही दिन अगाडि नै नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य (सांसद)हरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। आफ्नै दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

संसदीय दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आयार्यलाई चयन गरिएको पत्र प्रदेश नम्बर १ को प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।

प्रदेश नम्बर १ को प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरिएको पत्र सचिवालयमा दर्ता भएको जानकारी दिए । पराजुलीका अनुसार नेकपाको प्रदेश संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले पत्र दर्ता गराएका हुन् ।

मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको पत्रमा ३६ जना सांसदको हस्ताक्षर छ । आइतबार नेकपाको प्रदेशसभाका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश नम्बर १ मा कूल ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये नेकपाका मात्रै ६७ जना सांसद रहेका जनाइएको छ ।

नेकपा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहमा प्रदेश १ का ३६ जना सांसद छन् भने प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको समूहमा २४ जना सांसद छन् ।