logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कपः ७ रनमै समेटियो गण्डकी, प्रदेश १ समूह विजेता हुँदै सेमिफाइनलमा


अंकुरण खबर
663
Shares

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ विरुद्धको खेलमा गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ।

बिहीबार लमहीमा भएको खेलमा प्रदेश–१ ले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो। प्रतियोगिताकै सबैभन्दा कम योगफल बनाउने क्रममा कुसुम गोदार र सोनिया थापाले २-२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले रन जोड्न सकेनन्। गण्डकीले ३ रन अतिरिक्तबाट पाएको थियो।

प्रदेश–१ को धारिलो बलिङ सामू कुनै पनि खेलाडी टिक्न सकेनन्।

गण्डकीको पारी ध्वस्त बनाउने क्रममा संगीता राईले ५, सवनम राईले ४ तथा अप्सरी बेगमले १ विकेट हात पारे। ५ विकेट लिएकी राईले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चिइन्। यस्तै चार विकेट लिएकी शवनमले ३ ओभरमा १ मेडन राखेर ३ रन खर्चिएकी थिइन्।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

प्रदेश–१ का रोमा थापा र काजल श्रेष्ठले दोस्रो विकेटका लागि अविजित १११ रनको साझेदारी गरे । दुबैले अर्धशतकीय पारी खेले।

काजलले ५७ बलमा ४ चौकाको मद्दतले ५२ रन बनाउँदा रोमाले ४९ बलमा ८ चौकाको मद्दतले ५१ रन प्रहार गरिन्। कप्तान रुविना क्षेत्रीले १५ रनको योदान दिइन् । गण्डकीका लागि एक मात्र विकेट कुसुम गोदारले लिइन्।

जितसँगै प्रदेश–१ समूह ‘बि’ को विजेता बनेको छ भने गण्डकी प्रदेश जितबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार हुने सेमिफाइनमा समूह ‘बि’को विजेता प्रदेश–१ ले समूह ‘ए’को उप विजेता लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा ‘बि’को उपविजेता सुदूरपश्चिमले समूह ‘ए’को विजेता विभागीय टोली एपिएफको सामना गर्नेछ।