डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा जितेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलले जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे ।
पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको फाइदा उठाउँदै पीएसजीका लागि नेयमारले गोल गर्न सफल भए । उनकै गोलमा पीएसजीले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो ।
लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।