logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामचन्द्र पौडेलको प्रश्न-लोकतान्त्रिक व्यवस्थाकै लागि तीन पुस्ताले लडिसक्यो, अझै कतिले लड्ने ?


अंकुरण खबर
962
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिला संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि संविधान र लोकतन्त्र दुवै ‘डिरेल’ भएको बताउँदै आएका पौडेलले लोकतन्त्र र संविधानको रक्षापछि मात्र चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।

‘लोकतन्त्रको चीरहरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ’ पौडेलले सामाजिक सन्जालमा लेखेका छन्, ‘७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहिन बन्‍न सक्छ ।’ उनले संविधान र लोकतान्त्रलाई औचित्यहिन बन्ने बाटो काँग्रेस रोक्नुपर्ने बताए ।

‘लोकतान्त्रिक व्यवस्थाकै लागि तीन पुस्ताले लडिसक्यो, अझै कति पुस्ताले लड्ने ?’ पौडेलले भने, ‘हामीले यो संविधान ल्याएपछि फेरि लोकतन्त्रका लागि लड्नुपर्ने दिन सकियो भन्यौं, प्रधानमन्त्रीले पनि त्यही भन्नुभयो तर, उल्टो यात्रा आफैंले सुरु गर्नुभयो ।’

प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिँदै आएका पौडेल संविधान जोगाउने कुरालाई मुख्य प्राथमिकताका रुपमा उठाउँदै आएका छन् ।