पार्टी एकताको रक्षाका लागि भन्दै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन् ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै नेता गौतमले यो अभियानको घोषणा गर्न लागेका हुन् ।
प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनको भनाई छ ।
पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।
आफू प्रचण्ड-नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान सुरु गर्न लागेको बताए ।