प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गरेका छन् ।
बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्तालाई जंगलमा पठाएर प्रचण्ड दिल्ली बसेको टिप्पणी गरेका हुन् ।
‘उहाँ जंगल बसेको होइन । त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’
प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको दाबी गरेका छन् । ‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो । ठूला सभा गरेर जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,’ ओलीले भने, ‘०७० सालमा त बत्ती निभाएर, बाकस साटेर । त्यसअघि कीर्तिपुर हारेको । रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन ।’
उनले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको भन्दै असन्तुष्टि पोखे । ‘प्रचण्डले सूर्य चिन्हबाट एकपटक चुनाव लड्नु भयो ? कहिलेबाट तपाईंको भो सूर्य चिन्ह’ उनले प्रश्न गरे, ‘पार्टी छोडेपछि सूर्य चिन्ह ? दशा लागेपछि के लाग्छ ।’