logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला फुटबल लिग : पुलिस र आर्मीको बराबरीले एपीएफ च्याम्पियन


अंकुरण खबर
1.274K
Shares

नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल बाँकी रहँदै च्याम्पियन बनेको हो ।

आर्मीले यस खेलमा जित हासिल गरेको भए एपिएफको अर्को खेलको नतिजाले अन्तिम खेलसम्म लिगको उपाधि होड लम्बिने सम्भावना थियो । तर पुलिस र आर्मीको बराबरीसँगै एपिएफ च्याम्पियन बनेको हो । यससँगै आर्मी लिगको उपविजेता बन्ने पक्का भएको छ । पुलिस भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

पुलिसले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीको हेडर विमला विकलाई लाग्दै गोल भएपछि पुलिसले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउँदै आर्मीलाई उपाधि होडमा कायम रहने आशा जगाएकी थिइन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा पुलिसले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा पुलिसले अग्रता लिन सकेन । कप्तान घिमकुमारी गुरुङको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथि गएपछि पुलिसले अंक बाँड्नुपरेको हो ।

यस जितले आर्मीको ११ खेलमा २६ अंक भएको छ । १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बनेको छ । पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ । विराटनगरको ११ खेलमा १६ अंक छ । वालिङ १४, चन्द्रपुर ९ र चौदण्डीगढी अंकविहिन रहँदै पुछारका तीन स्थानमा छन् ।