logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले भ्याक्सिन उपलब्ध गराउनुले दुई देशको गहिरो मैत्री उजागर गरेको छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.066K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताए।

उनले चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडि बढ्नको निम्ति महत्वपूर्ण हुने पनि बताए।

उनले भने, ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडि बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ। नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ। यसले अझ थप बल पुर्‍याएको छ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन्।

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको पनि बताए। उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए। उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन्। तर आ–आफ्नै डोज गर्नुपर्छ। कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।’

उनले कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेकोसमेत बताए।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लड्न नेपालको साथम चीन सधैँ रहेको बताइन्। विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन्।