logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल भने- ओलीतिर जाँदैनौँ, नयाँ कमिटी घोषणा गरेर अगाडि बढ्छौँ


अंकुरण खबर
689
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी शर्मा ओलीसँग नजाने बताएका छन्।

बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु नयाँ कमिटीको तयारीमा रहेको र छिट्टै घोषणा गने बताएका हुन्।

‘हामी केपी ओलीतिर जाँदैनौँ। उनले कारबाही गरेर आत्तिएका पनि छैनौँ’, नेपालले भने, ‘हामी नयाँ कमिटीको तयारीमा छौँ, छिट्टै घोषणा गर्छौं।’

उनले नयाँ कमिटीसँगै देशव्यापी संगठन बनाउने र अन्य दलसँग सहकार्य गरेर ओलीलाई एक्ल्याउने बताए। उनले सहकार्यका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको बताए।

‘हामी देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं’, उनले भने, ‘अन्य दलसँग पनि सहकार्यका लागि छलफल गरिरहेका छौँ।’

उनले ओलीले चुवाव घोषणा गरे आफूहरुले पनि उम्मेदवारी दिने र अन्य दलसँग मिलेर चुनाव लड्ने बताए। उनले ओलीले सुघ्रन चाहे पार्टी एक हुनसक्ने र त्यसका लागि फागुन २८ पछिका सबै निर्णय खारेज हुनुपर्ने बताए।

‘केपी ओली सच्चिन चाहन्छन् भने फागुन २८ मा भएका निर्णय सच्याऊन्। हामी पुराना कुरा बिर्सिएर नयाँ ढंगबाट अगाडि बढ्न तयार छौं’, उनले भने, ‘होइन भने हाम्रो संघर्ष जारी रहन्छ।’

उनले एमालेका ८ लाख सदस्यमध्ये आफ्नो पक्षमा ६ लाख र ओली पक्षमा २ लाखमात्रै भएको दाबी गरे।