विराटनगरमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल अस्पतालमा २ र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ५७ वर्षीय पुरुष, विराटनगर–१३ का ५० वर्षीय, जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक र सुनसरीको कोशी गाउँपालिका–४ का ६५ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ ।
उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका चारै जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।
नोबेल अस्पतालमा विराटनगर ५ की ३७ वर्षीया महिला र विराटनगर १९ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
न्युरो अस्पतालमा रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । अस्पतालमा १७ दिनदेखि उपचाररत उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको र बिहीबार उपचारको क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।