काठमाडौं – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अनुबन्धित बार्बाडोस ट्रिडेन्टले क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’को उपाधि जितेको छ ।
आज बिहान ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा भएको खेलमा गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोसले उपाधि जितेको हो ।
टस जितेर शुरुमा ब्याटिङ गरेको बार्बाडोसले ६ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङ गरेको गुएनाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनमात्रै बनायो ।
फाइनल खेलमा सन्दीप भने सहभागी थिएनन् । नेपाली राष्ट्रिय टोलीसँग सिंगापुर र ओमानको शृंखला खेल्न फर्कनुअघि उनले बार्बाडोसका लागि ६ खेलमा ८ विकेट लिएका थिए ।