logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा सभापतिका सात आकांक्षी


अंकुरण खबर
754
Shares

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पार्टी सभापतिपदमा सात मुख्य आकांक्षी देखिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा सहित महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह र काँग्रेस सभापति देउवा पक्षकै विमलेन्द्र निधि पनि पार्टी सभापतिका लागि आकांक्षी देखिएका हुन् ।

काँग्रेसमा यतिबेला सभापति लगायत अन्य पदहरुमा प्रत्यासी उम्मेदवारहरुको दौडधूप चलिरहेको छ । वर्तमान सभापति शेरबहादुर देउवाले आफू पुनः १४ औं महाधिवेशनमा पार्टी सभापतिको लागि दाबी गर्नुभए संगै सो अनुरुप पार्टी सभापति देउवा नेता, कार्यकर्ताहरुसँग निरन्तर छलफलमा छन् । १३ औं महाधिवेशनमा काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको प्रतिस्पर्धा भएको थियो । जसमा काँग्रेस नेता सिटौलाको भोट देउवा पक्षमा गएपछि देउवा पार्टी सभापतिमा विजयी भएका थिए । १४ औं केन्द्रीय महाधिवेशनमा सभापतिका लागि अहिलेसम्म सात जना आकांक्षीहरु रहेको काँग्रेस स्रोतले बताएको छ ।

काँग्रेस नेतृ सुजता कोइरालाले महाधिवेशनका सन्दर्भमा थप छलफल गरेर उम्मेदवार टुंगो लगाइने बताउनु भएको छ । विगतमा पार्टी सभापतिका लागि उम्मेदवारीमा नेतृ कोइरालाले पनि आफूले दाबीगर्ने बताउदै आउनुभएको थियो । महिलाबाट सभापतिमा कोहीपनि नभएका कारण यो पटक आफुले दावी गर्ने उनको भनाई छ ।

काँग्रेसको ३ र ४ गते बसेको केन्द्रीय कार्य समितीको बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरेको हो । काँग्रेसले गाउँ नगर वडा महाधिवेशन साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ हुने भएको छ ।

काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मको मिति घोषणा भएसँगै मुख्यगरी पार्टी सभापतिका दाबेदारहरुको दौडधूप तीव्ररुपमा भइरहेको छ ।