काठमाडौं – चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आज भएको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंमाथि ५ विकेटको जित निकाल्दै चितवनले विजयी सुरुआत गरेको हो ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको खेलमा ९३ रनको लक्ष्य चितवनले १८.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
चितवनको जितमा सुमन खतिवडाले २९ रन बनाइन् । २३ बल खेलेकी सुमनले ४ चौका प्रहार गरिन् । रिता कन्नौजिया र प्यारी चौधरीले समान १४– १४ रन बनाउँदा काजल श्रेष्ठले ११ रन जोडेकी थिइन् । कप्तान बिन्दु बर्मा १ रनमा पवेलियन फर्किंदा कन्चन श्रेष्ठ ६ रनमा आउट भइन् । रेखा रावल ३ रनमा अविजित रहिन् ।
काठमाडौंकी इश्वरी विष्टले २ विकेट लिँदा संगिता राई, लक्ष्मी साउद र सरस्वती कुमारीको नाममा १–१ विकेट रह्यो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । काठमाडौंका लागि रश्मी चौलागाईंले सर्वाधिक ३४ रन बनाएकी थिइन् । सरस्वती कुमारीले १५ रन बनाउँदा शोभा आले र रोमा थापाले ९–९ रन बनाएका थिए । ममता थापाले ७ तथा अप्सरी बेगमले ६ रन बनाउँदा ४ खेलाडी १–१ रनमा आउट भए । सुमन बिष्टले खाता पनि खोल्न सकिनन् ।
चितवनकी सन्तोषी चौधरीले ३ विकेट लिइन् । रेखा रावल र कविता गौतमले २–२ विकेट लिदाँ रिता कन्नौजियाले १ विकेट लिएकी थिइन् ।
आजदेखि शुरु भएको प्रतियोगिता कात्तिक ७ गतेसम्म चल्नेछ । सो लिगमा पाँच शहरका ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोली सहभागि छन् । विजेताले ७ लाख र उप विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।