logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्री पौडेलको निर्देशन : सरुवा- बढुवाका लागि म कहाँ एकजना प्रहरीपनि नआउनु


अंकुरण खबर
1.079K
Shares

गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताए।

उनले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए।

मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताए। उनले भने–‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन। म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्छु। यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफुकहाँ नआउनको लागि निर्देशन गरे।

आफु मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए।

मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए।

उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।