logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोकप सेमिफाइनलमा इटाली र स्पेन भिड्दै


अंकुरण खबर
1.534K
Shares

युरोकप २०२० को सेमिफाइनलमा प्रतियोगिताका दुई प्रबल दाबेदार इटाली र स्पेन भिड्दैछन्।

प्रतियोगितामा अपराजित रहेको इटाली र युवा खेलाडीले भरिपूर्ण स्पेनबीचको खेलले फाइनल प्रवेश गर्ने टिमको टुंगो लगाउनेछ।

इटाली बलियो प्रतिद्वन्द्वी बेल्जियमको चुनौती पाखा लाउँदै सेमिफाइनल प्रवेश गरेको हो। फिफा वरियताको विश्व नं. १ टिम बेल्जियमलाई २–१ ले पराजित गर्दै इटाली अन्तिम ४ मा पुग्न सफल भएको हो।

स्पेन भने अन्डरडग टिम स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम ४ मा आएको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि स्पेनले टाइब्रेकरमा ३–१ को जित निकाल्दै इटालीसँगको भिडन्त पक्का गरेको थियो।

विगत १६ वर्षदेखि स्पेन र इटाली लगातार युरोकपको नकआउट चरणमा भिड्दै आएका छन्। युरोकप २००८ मा क्वार्टरफाइनलमा भेट हुँदा इटालीलाई पराजित गरेको स्पेनले पछि गएर प्रतियोगिता नै जितेको थियो।

युरोकप २०१२ मा भने स्पेन र इटाली फाइनलमा उपाधिका लागि भिडेका थिए। स्पेनले ४–० को प्रभावशाली जित निकाल्दै खेल जित्यो र लगातार दुईपटक युरोकप जित्ने पहिलो टिम बन्दै इतिहास रच्न सफल भएको थियो।

२०१६ को युरोकपमा पनि यी दुई टिमको नकआउटमै भेट भयो। अन्तिम १६ को सो खेलमा भने इटालीले स्पेनलाई २–० ले पराजित गर्दै पछिल्ला दुई हारको बदला लिन सफल भएको थियो। त्यसैले, दुई देशबीचको युरोकप नकआउटमा लगातार चौथो खेल निकै रोचक हुनेछ।

२०१८ मा रोबर्ट मान्सिनिले प्रशिक्षको जिम्मेवारी सम्हालेयता अपराजित रहेको इटाली २००८ र २०१२ को हारको बदला लिँदै युरोकप पनि जित्ने दाउमा छ। युरोपको शीर्ष लिगका स्टार खेलाडीले भरिपूर्ण दुवै टिम जितकै खोजीमा रहनेछन्।

इटालीका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका फ्रेडरिको किएजा, निकोलो बरेला, मार्को भेराटी र लोरेन्जो इन्सिग्नेसँग भने स्पेनले सचेत हुन आवश्यक छ। स्पेनले इटालीविरुद्ध गोल गर्दै जित हात पार्न किलेनी र बोनुचीको डिफेन्सिभ लाइन तोड्दै जिआनलुइजी डोनारुमालाई पनि निस्तेज पार्नु पर्नेछ।

यस्तै, इटालीले पनि पाब्लो सराबिया, फेरान टोरेस, पेड्री, जेरार्ड मोरेनो र सर्जियो बुस्केट्सलगायतका खेलाडीको चुनौती सामना गर्नुपर्नेछ। दुई खेलमा ५–५ गोल गरेको स्पेनले जारी प्रतियोगितामा १२ गोल गरेर ५ गोल खाएको छ भने इटालीले ११ गोल गर्दा २ गोल मात्र खाएको छ।

स्पेन र इटालीबीच आज (मंगलबार) राती १२ः४५ बजे लण्डनस्थित वेम्ब्ली स्टेडियममा खेल हुँदैछ।