प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामै विद्धान तयार गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्वजहरुले कयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन्।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दे जानुपर्नेमा उनले जोड दिए। उनले अनुकूल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने बताए।
उनले भने, ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्धान हुन सकिँदैन। जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ। हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरि पावर र इन्नोभेटिभ पावर। मेमोरि पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ। हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौँ।’
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नो गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए। उनले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए।