मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिएसँगै असार ४ गतेदेखि स्थगित भएको गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आगामी आइतवार सुरु हुने भएको छ।
यो अधिवेशनबाट गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित हुनेछ।
प्रदेश सरकारहरुले असार १ गतेभित्र नयाँ बजेट ल्याउने र असार महिनाभित्रै बजेट सदनबाट पारित गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सदनको बैठक डाकिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले आज संसद सचिवालयमा सदनको बैठक चलाउन सिफारिस दर्ता गराएपछि आइतबार ११ बजेका लागि बैठक बोलाइएको सचिवालयले जनाएको छ।
नयाँ मुख्यमन्त्री भएपछि हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले विनियोजन गर्न भने सकेको थिएन। गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले प्रदेशका विभिन्न योजनामा रकम विनियोजनसहितको रातो किताब तयार भईसकेकाले नियमानुसार पारित गराउनका लागि सदनको बैठक डाक्न सिफारिस गरिएको बताए।
सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै मुख्यमन्त्रीले मन्त्रालय बाँडफाँट गर्ने यसअघि नै बताइसकेका छन्। मुख्यमन्त्रीले तत्काललाई भने माओवादीको तर्फबाट मन्त्री भएकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या र प्रवक्ता कुमार खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।
गठबन्धनबाट मन्त्रीपरिषद्मा सहभागी भएका स्वतन्त्र सांसद दीपक मनाङे र जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्य विनाविभागीय नै छन्।