logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

सांसद र पिएलाई २ महिनादेखिको एकमुष्ट तलब


अंकुरण खबर
793
Shares

दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गरेको हो ।

सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको हो ।

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुने सचिवालयले जनाएको छ ।

एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ । यसका अलावा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् ।

पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।

जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । तर सर्वोच्चको पछिल्लो फैसलापछि संसद पुनः ब्युँतिएको छ ।