प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस सङ्क्रमणको तेस्रो चरण फैलिन नदिन उच्च स्तरीय स्वास्थ्य सतर्कता र आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल नेतृत्वको स्वास्थ्य विज्ञहरूसँगको आइतबारको भेटमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकको स्वास्थ्यप्रति सरकार चिन्तित रहेकाले कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई छिटोछरितो र चुुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउनुुपर्छ भनेका छन् । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक तयारी र प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिए ।
सीमा नाकामा होल्डिङ सेन्टर निर्माणसँगै स्वास्थ्य परीक्षण, टे«सिङलगायतका कार्य प्रभावकारी बनाउन र अस्पतालमा शैया क्षमता विस्तार तथा अक्सिजन आपूर्ति सहज बनाउन प्रधानमन्त्री देउवाले सचिव अर्यालसहितको विज्ञ समूहलाई निर्देशन दिएका छन् ।
सर्वसाधारणले खोप लगाउन घण्टौँसम्म लाममा बस्नुुपर्ने अवस्था अन्त्य तथा बाक्लो भीडभाडका कारण सामाजिक दूरी कायम नहुँदा कोरोना फैलिन सक्ने कुराप्रति सचेत गराउँदै उहाँले खोप केन्द्रको सङ्ख्या वृद्धि गर्न निर्देशसमेत गरे ।
कोरोना सङ्क्रमणको पहिलो, दोस्रो हुँदै अब तेस्रो लहर फैलिने सम्भावना रहेकाले त्यसबाट सुरक्षित हुन कोरोनाविरुद्धको खोपसँगै सामाजिक मापदण्डको पालना र सामाजिक दूरी कायम राख्न लगाई आवश्यक तयारीमा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।