एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले सर्वोच्च अदालतको परमादेशका कारण बनेको निर्दलीय सरकार स्थापना भएकाे र त्यसले लोकतान्त्रिक आन्दोलनमा गत्यावरोध सिर्जना गरेको दाबी गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा एमालेद्वारा आज (बिहीबार) ललितपुरको च्यासलसिथत तुलसीलाल समृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले निर्दलीय सरकार बनेको छ। लोकतान्त्रिक प्रणाली स्थापनाका लागि फेरि संकल्प गर्नुपर्ने बेला आएको छ।’
प्रतिगामी शक्तिहरूले कम्युनिस्ट पार्टीलाई विभाजनको स्थितिमा पुर्याएको दाबी पनि उनले गरे। ‘विस्थापित कम्युनिस्ट पार्टीको नेतृत्वलाई अब आन्दोलनबाट पुनःस्थापित गर्नुपर्छ,’ उनले भने ।
नयाँ सिराबाट कम्युनिस्ट पार्टीलाई पुनर्निर्माण गर्न सके मात्र लोकतन्त्रलाई संस्थागत रुप दिन सकिने उनको भनाइ थियो।