logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको वडास्तरीय अधिवेशन स्थगित


अंकुरण खबर
637
Shares

नेपाली काँग्रेसले  साउन  १२  गतेका  लागि  तय  गरेको  गाउँपालिका  तथा  नगरपालिकाको  वडास्तरीय  अधिवेशन स्थगित गरेको छ ।

आवश्यक तयारी नपुगेको जनाउँदै शनिबार बसेको पार्टी पदाधिकारी तथा  पूर्वपदाधिकारीको  बैठकले  वडास्तरीय  अधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित  निवासमा  बसेको  बैठकले  पार्टीको  क्रियाशील  सदस्यता  वितरणमा  देखिएको विवाद समाधान नगरी अधिवेशन गर्न नहुने निष्कर्ष निकालेको  हो  ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले  साउन  १२  गतेलाई  तय  गरिएको  वडास्तरीय  अधिवेशन  स्थगित गर्ने निर्णय भएको र  नयाँ  कार्यतालिका  छिट्टै  सार्वजनिक  गरिने  जानकारी दिए ।

आगामी भदौ १६–१९ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशनका विषयमा  कुनै  निर्णय  गरिएको  छैन  ।  यसअघि  प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति एक दिन पनि नसर्ने स्पष्ट पारिसकेका छन् ।

वडा अधिवेशन सर्ने पार्टीको शनिबारको  निर्णयले  वडादेखि  जिल्लासम्मको  पार्टी  अधिवेशनको  कार्यतालिका  प्रभावित  हुने  देखिएको छ । प्रवक्ता  शर्माले भने, ‘वडास्तरीय  अधिवेशन स्थगन हँुदैमा केन्द्रीय महाधिवेशन सर्छ भन्ने होइन । काँग्रेस पार्टीलाई भदौ २० गतेसम्म १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।’पार्टीले यसअघि साउन १२ गते वडास्तर, साउन १६ गते स्थानीय (पालिका) तह, साउन २० गते प्रदेश सभा निर्वाचन क्षेत्र, साउन २३ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरू र साउन २६ गते दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन तय गरेको थियो ।

त्यसैगरी भदौ १ र २ गते सातवटै प्रदेशस्तरीय अधिवेशन  गर्ने  कार्यतालिका  बनाएको  थियो  । पार्टीमा  क्रियाशील  सदस्यताको  विवाद  किनारा  लाग्न नसक्दा वडा अधिवेशन प्रभावित भएको हो  ।

पार्टीका  केही  पदाधिकारी  भने  केन्द्रीय  महाधिवेशन निर्धारित मितिमा नै सम्पन्न हुनेमा विश्वस्त देखिन्छन्  ।  शनिबारको  बैठकमा  प्रधानमन्त्री  एवं  सभापति देउवाले केन्द्रीय महाधिवेशन  निर्धारित  मितिमा नै सम्पन्न गर्नुपर्ने बताए ।

पार्टीबाट  केन्द्रीय  सदस्य  रमेश  लेखकको  संयोजकत्वमा  गठित  क्रियाशील  सदस्यता  छानबिन  समितिलाई  आउँदो  मङ्गलबारसम्म  विवाद  टुङ्ग्याई  प्रतिवेदन  पेस  गर्न  निर्देशन  दिइएको  छ  ।

सभापति  देउवाले  क्रियाशील  सदस्यता वितरणसम्बन्धी आन्तरिक विवादलाई छिटो सुल्झाउन निर्देशन दिएका हुन् । समितिले प्रतिवेदन  सभापति  देउवासमक्ष  पेस  गर्नेछ  ।

पार्टीको  १४आँैं  महाधिवेशनमा  आठ  लाख  ५०  हजारभन्दा  बढी  क्रियाशील  सदस्यता  वितरण  गरिने जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।