जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्।
अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन्। बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ।
यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन्। दुवैले पदक जित्न सकेनन्।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।
एलेक्सले मङ्गलबार, गौरिकाले बुधबार र सरस्वतीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन्।