logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको आर्थिक विकासमा जापानी सहयोगप्रति राष्ट्रपति भण्डारीद्वारा धन्यवाद व्यक्त


अंकुरण खबर
676
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।

राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार टोकियो पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गरिन् । उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन जापानी प्राध्यापक केन्जो टाँगेले बनाएको गुरुयोजनाले पूर्णता पाउने विश्वास पनि व्यक्त गरिन् ।

जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताए । उनले आजै काठमाडौँको नागढुङगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग शिलान्यास हुन लागेकामा खुशी व्यक्त गरे ।

जापानी प्रधानमन्त्रीले आफ्नो सरकारले अध्यागमन कानूनलाई संशोधन गरी वैदेशिक रोजगारको क्षेत्रलाई सरल बनाएको र ९० हजारभन्दा बढी नेपाली जापानमा कार्यरत रहेको जानकारी दिए ।