दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार भदौ तेस्रो साता नेपालले भारतको राष्ट्रिय फुटबल टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल्ने तय भएको हो ।
एन्फाका अनुसार एन्फा र भारत फुटबल महासङ्घबीच औपचारिक रूपमा मैत्रीपूर्ण फुटबलका लागि सहमति भएको हो ।
भारत पनि साफ च्याम्पियनसिपको तयारीमा छ । नेपाल र भारतबीचको खेल भदौ १७ र भदौ २० मा हुने एन्फाले जनाएको छ ।
दुबै टोलीले हालसम्म एक अर्काविरुद्ध १९ खेल खेलेका छन्, जसमा भारतले १३ खेलमा जीत निकालेको छ । नेपालले भारतलाई दुई पटक हराएको छ । अरू चार खेल भने बराबरीमा सकिएको छ ।
सन् २०१३ मा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले २–१ ले भारतलाई हराएको थियो । त्यसपछिको पाँच भेटमा नेपालले एक बराबरी खेल्दा अन्य खेल गुमाएको छ ।
सन् २०१८ को फिफा विश्वकप छनोट खेल्ने क्रममा सन् २०१५ मा नेपालले भारतको सामना दशरथ रङ्गशालामा गरेको थियो ।