logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीमा विपक्षीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै


अंकुरण खबर
1.339K
Shares

लुम्बिनी प्रदेश सभाका विपक्षी गठबन्धनमा रहेका चार दलले सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्न लागेका छन्।

प्रदेश सभामा अविश्वास प्रस्तावको सामना गर्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख शेरचनले आज दिउँसो ३ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुखको आह्वान अनुसार, सरकार गठनका लागि कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले दाबी पेश गर्न लागेको हो। विपक्षी गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनका सांसदले दर्ता गराएको अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा छलफल राखिएको थियो। तर, मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठक शुरु हुनुअघि नै राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ। कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका चार र जनमोर्चाका एक सांसद छन्। मुख्यमन्त्री पोखरेलको पक्षमा भने एमालेका ३८ सांसद छन्।

८७ सदस्य प्रदेश सभामा अहिले प्रदेश सभामा ८० सांसद मात्रै छन्। बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ।